काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल अन्तर्गत आज (सोमबार) एक खेल हुदैछ । प्रतियोगिताको चौथो दिन सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
स्वयम्भुस्थित शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा भारत र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । र, प्रतियोगिताको उपाधि दाबेदार भारत र बंगलादेशबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
समूह 'बी' मा रहेको भारतको यो पहिलो खेल हो । त्यसैले भारत सुखद सुरुवात गर्ने दाउमा हुनेछ । यता, बंगलादेश भने भारतलाई हराएर सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ । बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
यस समूहमा बंगलादेश ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अंक विहिन भारत दोस्रो र श्रीलंका पुछारमा रहेको छ ।
प्रतियागिताको तेस्रो संस्करणसम्म आईपुग्दा भारत र बंगलादेशले उपाधि हात पार्न सकेका छैनन् । यस पटक दुवै टोली प्रतियोगिताको उपाधि हात पार्ने दाउमा रहेका छन् ।
अघिल्ला दुई संस्करण नेपालले जितेको थियो । तर, यस संस्करणमा भने नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना रहेको छ ।