एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (सोमबार) राति फिफा वर्ष खेलाडी अवार्ड 'द बेष्ट' को घोषणा गर्दैछ । इटालीको मिलानमा आयोजना हुने भव्य कार्यक्रमकाबीच वर्ष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ ।
फिफाले सार्वजनिक गरेको अन्तिम मनोनयनमा तीन खेलाडी छन् । जसमा बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भिर्गिल भान डाइक र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् ।
यस सिजन लिभरपुलका डिफेन्डर डाइकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो । यस्तै नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्राएका थिए ।
डाइकले यसै वर्ष युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई नै पछि बनाएका थिए ।
रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी 'ए' उपाधि जितेका थिए ।
मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । यस्तै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।
यस्तै वर्ष खेलाडी महिलातर्फ युईएफए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् ।
वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् । महिला प्रशिक्षकतर्फ ग्रे नेभिल्स, जिल एलिस र सरिना विगम्यान रहेका छन् ।
वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन् ।
त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि लियोनल मेस्सी,जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेको छ ।