एजेन्सी । करिम बेन्जिमाको गोलमा रियल मड्रिडले स्पेनिस लिगमा सेभिल्लालाई हराएको छ । आईतबार राति सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड १–० ले विजयी बनेको हो ।
रियलको जितमा खेलको ६४ औ मिनेटमा बेन्जिमाले विजयी गोल गरेका थिए ।
सोही गोल रियललाई तीन अंक दिलाउन पर्याप्त रह्यो ।
जिनेदिन जिदानको टिम रियल स्पेनिस लिगमा अपराजित छ । दोस्रो स्थानको रियलले ५ खेलबाट ११ अंक बटुलेको छ । सेभिल्ला १० अंक सहित पाँचौ स्थानमा छ ।

च्याम्पियन्स लिगको सिजनको पहिलो खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसंग ३–० ले हारेपछि प्रशिक्षक जिदानलाई दबाब थपिएको थियो ।
पहिलो हाफमा यसै सिजन रियल आएका इडेन हजार्डको गोलको प्रयासलाई सेभियाको गोलकिपर थोमस भाक्लिकले असफल बनाएका थिए ।
घरेलु टोलीका जाभियर हर्नाल्डेजको गोललाई रेफ्रीले अफसाईडको मान्यता दिएका थिए ।
सेभियालाई रियलका पुर्व प्रशिक्षक जुलेन लुपेटिगुईले नेतृत्व दिएका छन् । उनी गत अक्टोबरमा रियलबाट बर्खास्तमा परेका थिए ।