काठमाडौं । नेपाली यू-१८ फुटबल टिममा मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले पाएको मौका सदुपयोग गर्न नसक्दा यू-१८ साफ च्याम्पियनसिपको दोस्रो खेलमा भुटानसँग हार व्यहोर्नु परेको बताएका छन् ।
एपीएफको हलचोक मैदानमा आइतबार नेपालले भुटानसँग ३-० गोलको लजास्पद हार व्यहोरेको थियो । हारपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले खेलाडीले सिकाए अनुसारको प्रदर्शन गर्न नसकेको बताए ।
'सुरुमा पाएको राम्रो मौकाहरु गुमाउदा गार्हो भयो । पानीले गर्दा पनि खेलाडीले खेल्न सकेनन् ,' प्रशिक्षक श्रेष्ठले भने,'मैले सिकाएको अनुसार खेलाडीले देखाउँन सकेनन् । खेलाडी र दुवैको दोष हो यो ।'
पहिलो हाफमा १-० ले पछि परेको नेपालले भुटानसँग दोस्रो हाफमा २ गोल खाएको थियो । हारसँगै समूह 'ए' मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले २ खेलमा १ अंक जोडेको छ ।
अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ । उक्त खेलमा भुटानले माल्दिभ्सलाई ४-० को फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ । बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ ।
प्रशिक्षक श्रेष्ठले नेपालको सेमिफाइनल सम्भावना बाँकी रहेको भएपनि गणितीय सम्भावनामा आश नगरेको बताए ।
'अंकगणितको रुपमा मैले आश गरेको छैन । भुटानले माल्दिभ्सलाई पनि जित्न सक्छ । सम्भावना अझै बाँकी छ । भुटानले धेरै गोल हान्नुपर्छ । तर, यो सम्भावना छैन,' प्रशिक्षक श्रेष्ठले भने ।
यस्तै श्रेष्ठले भुटानले उत्कृष्ट खेलेको र भुटानलाई कमजोर मान्न नहुने बताए ।
' भुटान अहिले सम्म कमजोरी थियो, अब साउथ एसियामा कमजोरी कुनै टिम छ भन्ने हुन्न । भुटानले राम्रो गर्यो । फिजिकलमा भुटान बलियो रहेछ,' श्रेष्ठले थपे, 'भुटान अहिलेसम्म कमजोर थियो, अब साउथ एसियामा कुनै टिम कमजोर छैन ।'
श्रेष्ठले नेपालको स्तर खस्किएको र अब यसलाई सुधार गरेर लैजानु पर्ने समेत बताए । 'हाम्रो स्तर राम्रो छैन । हामिले जति दिन सक्छौ त्यती दिएको हो । अब अझ राम्रो गर्नुपर्छ । खेलाडीलाई राम्रो ट्रेनिङ गर्नुपर्छ,' श्रेष्ठले भने ।
भुटानका प्रशिक्षक युगेन दोर्जीले आफ्ना खेलाडीले शतप्रतिशत खेलेको तर नेपालमाथि फराकिलो हार नसोचेको बताए ।
'केटाहरुले भनेको जस्तो खेले । शतप्रतिशत खेले । तर, ३-० को जित सोचेको थिएन,' दोर्जीले भने ।