काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।
आइतबार भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।
बल पोजिसनमा पकड जमाएपनि नेपालले खेलको ३७ औं मिनेटमा गोल खाएको थियो । नेपाली डिफेन्डरले बल क्लियर गर्न नसक्दा भुटानका यशी दोर्जीले गोल गरेका थिए ।
दोस्रो हाफको ८६ औं मिनेटमा भुटानले अग्रता दोब्बर बनायो । नेपालका विशाल बस्नेतले डिबक्स भित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा भुटानका केल्जाङ जिग्मीले गोल गरे । त्यसपछि खेलको ९० औं मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३-० को जित दिलाए ।
हारसँगै समूह 'ए' मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले २ खेलमा १ अंक जोडेको छ ।
भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले १ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक रहेको छ ।
अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ ।
उक्त खेलमा भुटानले माल्दिभ्सलाई ४-० को फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ । बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ ।
नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।