काठमाडौं । नेपाली राष्ट्रिय यू-१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले घरेलु मैदानमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने बताएका छन् ।
हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको रंगशालामा भोलि (शुक्रबार) बाट सुरु हुने प्रतियोगिता अघि प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले टिमको तयारी उत्कृष्ट रहेको कारण उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए ।
'प्रतियोगितामा सबै टिम बलिया छन् । तर, हामीले त्यहिँ अनुसार तयारी गरेका छौँ,' प्रशिक्षक श्रेष्ठले भने, 'यस पटक घरेलु मैदानमा प्रतियोगिता हुँदैछ । हामीले त्यहिँ अनुसार जितेर ह्याट्रिक गर्ने लक्ष्य बनाएका छौँ ।'

प्रशिक्षक श्रेष्ठले नेपालले प्रतियोगिता अघि ४५ दिन तयारी गरेको र टिम उत्कृष्ट बनेको बताए । प्रतियोगिताको उपाधि जित्न टिमले अट्याकिङ पोजिसनलाई बढी फोकस गरेको समेत बताए ।
'हाम्रो सबै पक्ष राम्रो छ । मिडफिल्ड सबै भन्दा बलियो छ । उपाधि जित्नको लागि हामी अट्याकिङ पोजिसनलाई बलियो बनाएका छौं,' श्रेष्ठले भने । केहि अनुभवी खेलाडी र कोरियाको एकेडेमीमा रहेर खेलिरहेका मनिष डाँगी टिममा रहेको कारण टिमको अग्र पंक्ति बलियो भएको श्रेष्ठको भनाई छ ।
साविकको विजेता रहेको नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । बलियो मानिएको माल्दिभ्सलाई हराएर नेपाल उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ । खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।

समूह 'ए' मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ । समूह 'बी' मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
यसअघि नेपालले नेपालमै भएको पहिलो र भुटानमा भएको दोस्रो संस्करणको उपाधि जितेको थियो ।
सहज मानिएको समूहमा रहेको नेपाललाई सेमिफाइनल पुग्न कठिन भने हुने छैन । त्यसपछिका खेलमा भने नेपालले कठिन चुनौती पार गर्नु पर्ने हुन्छ । किनकि अर्को समूहमा रहेका भारत र बंगलादेश निकै अब्बल टिम रहेको छ ।

तर, नेपाली टोलीका कप्तान जया गुरुङ घरेलु मैदानमा उपाधि जित्न कै लागि मैदान उत्रने बताउछन् ।
' हामीले ४५ दिन बढी तयारी गरेका छौँ । 'ए' डिभिजन क्लबसँगको अभ्यास राम्रो भएको छ,' जयाले भने, 'घरेलु मैदानमा सबै खेलाडीको आत्मबल बढेको छ । हामीलाई घरेलु मैदान र समर्थकको साथ छ । हामी ह्याट्रिक गर्ने लक्ष्यमा छौँ ।'