एजेन्सी । एन्जल डी मारियाको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा सहज जित दर्ता गरेको छ ।
बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली पीएसजी तीन मुख्य फरवार्डविना मैदान उत्रिएको थियो । निलम्बनको कारण नेयमार र चोटका कारण केलियन एम्बाप्पे र ईडिन्सन काभानी मैदानमा थिएनन् ।
तर युरोपेली क्लब फुटबलको खर्चालु क्लब रियलविरुद्व पीएसजीले सहज जित निकाल्न सफल रह्यो ।
मारियाले सुरुवातमै दुई गोल गर्दै पीएसजीको जित यात्रालाई निकै सहज बनाए । अर्को एक गोल दोस्रो हाफको ईन्जुरी समयमा थोमस म्युनिरले गरेका थिए । मारियाले पुर्व क्लबविरुद्द दुइ सनसनीपूर्ण गाेल निकाल्न सफल रहे ।

पीएसजीको जितले रियल प्रशिक्षक जिनेदिन जिदानमाथि ठुलो दबाब थपिएको छ । जो क्लब फर्किएपछि जितको अनुपात ५० प्रतिशतमा झरेको छ ।
ईडेन हजार्डले रियलको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गरे । उनले केही राम्रो बल छोएका थिए ।
तर खेलमा प्रभाव देखाउन उनीसमेत असफल रहे ।
गोलपोस्टको नजिकैबाट रहेका मारियाले १४ औ मिनेटमा पीएसजीलाई सूरुवाती अग्रता दिलाए । ३३ औ मिनेटमा डि बक्स बाहिरबाट कठिन कोणबाट दोस्रो गोल गर्दै उनले घरेलु टोलीलाई सुरुमै राहत दिलाएका थिए ।

लगत्तै रियलका ग्यारेथ वेलले निकै राम्रो भली गोल गर्न सफल भएका थिए । तर रेफ्रीले भारमार्फत सो गोलको मान्यता दिन अस्विकार गरे । भारमा हेर्दा बल होल्ड गर्ने क्रममा वेलले सो बललाई हातले छोएको देखिएको थियो ।
समुह एमा पीएसजीले ३ अंक जोड्न सफल भएको छ । रियल अंक विहिन छ ।