काठमाडौं । नेपालको यू–१८ राष्ट्रिय फुटबल टिमको कप्तानी जया गुरुङले गर्ने भएका छन् ।
घरेलु मैदानमा हुन लागेको साफ यू–१८ फुटबल प्रतियोगिता नेपालले जयाको कप्तानीमा खेल्ने भएको हो ।
मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले व्रिगेड ब्वाईजको कप्तान समेत रहेका जयालाई नेपाली टिमको कप्तानी दिने निर्णय गरेका हुन् ।
जया कप्तानको रुपमा चुनिएपछि उपकप्तानमा नितिन थापा रहने छन् ।
कप्तानको होडमा नितिन र जया रहेका थिए ।
मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले सोमबार मात्रै प्रतियोगिताका लागि २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।
तेस्रो संस्करणको साफ शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा हुँदैछ ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् । यस्तै समूह बी मा भारत, श्रीलङ्का र बंगलादेश रहेका छन् ।
नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पहिलो खेल असोज ३ गते रहेको छ । दोस्रो खेल ५ गते भुटानसँग भिड्नेछ ।
समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल १२ गते रहेको छ । नेपाल तेस्रो पटक उपाधि जित्ने दाउमा हुनेछ । नेपाल अघिल्ला दुई संस्करणको विजेता हो ।
अनन्त तामाङको नेतृत्वमा रहेको नेपाल सन् २०१५ मा च्याम्पियन भएको थियो । नेपालमै आयोजना भएको यस संस्करणको प्रतियोगिता यू–१९ टिमले खेलेको थियो ।
सन् २०१८ मा भएको साफमा भने यू–१८ टिम खेलाउने निर्णय भएको थियो । अर्पण कार्कीको नेतृत्वमा रहेको नेपाली टिमले भुटानमा भएको दोस्रो संस्करणको उपाधि समेत उचालेको थियो ।
को हुन् जया ?
व्रिगेड ब्वाइज क्लबका कप्तान हुन्, जया । सेन्टर मिडफिल्डमा खेल्ने जया व्रिगेड ब्वाईजले लगातार दुई पटक ललित स्मृति जित्दाका मुख्य खेलाडी पनि हुन् ।
उमेरका आधारमा सिनियर जया अहिले यू–१८ कप्तानीको लागि मुख्य दाबेदार थिए । ललित स्मृतिको सुरुवाती ३ खेल गुमाएका उनी त्यसपछि सुरुवाती सेटमै रहेर खेलेका थिए ।
गत सिजन ब्रिगेड ब्वाइजबाट ए डिभिजन लिग खेलेका जया अन्तिम समय घाईते हुन पुगेका थिए । उनले ललित स्मृति च्याम्पियनसिपबाट मैदानमा पुनरागमन गरेका थिए ।
खेलाडीसँग राम्रो ब्यवहार गर्ने, सबैलाई नेतृत्व गर्न माहिर जयाले सेन्टरबाट राम्रोसंग बललाई अगाडी बढाउन क्षमता राख्छन् ।
सोही कारण उनलाई कप्तानीको जिम्मेवारी दिएको मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले खेलपाटीलाई बताएका छन् ।
नेपाली टिम :
गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी, पुजन होना
डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन
मिडफिल्डर : शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी
यो पनि
साफ यू–१८ : कप्तानका हकदार दुई खेलाडी