काठमाडौं । किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् ।
नेपाली टोलीलाई सोमबार दरबारमार्गको किङ्स लाउन्जले सम्मान गरेको हो । प्रतियोगिता उपविजेता बनेको टोलीलाई थप राम्रो गर्न प्रोत्साहन र टिमको हौसला बढाउँन सम्मान गरिएको किङ्स लाउन्जका संचालक कुमार गुरुङले जानकारी गराए ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा बिहिबार भएको फाइनलमा बलियो टिम उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा समेटिएको थियो । सावित्रा भण्डारीले २ गोल फर्काए पनि नेपालले इतिहासकै पहिलो उपाधि चुम्नबाट चुकेको थियो ।
यस अघि नेपालले साफ च्याम्पियनसिप ४ पटक, साग २ पटक र हिरो महिला गोल्डकपमा एक पटक फाइनल पुगेर पनि उपाधि जित्नबाट बन्चित भएका थिए ।
सम्मान कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंह लगायतको उपस्थिति रहेको थियो ।






