एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले १० खेलाडीमा सिमित उडीनेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन स्टेफानो सेन्सीले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा स्टेफानोले गरेको गोल इन्टरको जितमा निर्णायक बनेको थियो । खेलको ३५ औं मिनेटमा रोड्रिगो डी पाउलले रातो कार्ड खाएपछि उडीनेस १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै इन्टरले ३ खेलमा शतप्रतिशत जितको यात्रालाई कायम राखेको छ । ३ खेलमा ९ अंक जोडेको इन्टर लिगको शीर्ष स्थानमा रहेको छ । ३ खेलमा ३ अंक जोडेको उडीनेस लिगको १४ औं स्थानमा छ ।

अर्को खेलमा नापोलीले साम्पडोरियालाई २-० ले हराएको छ । नापोलीको जितमा मेर्टेन्सले दुवै गोल गरे ।
जितसंगै नापोलीले ३ खेलबाट ६ अंक जोडेको छ । साम्पडोरिया अंक विहिन रहेको छ ।