काठमाडौं । नेपाली यू-१६ राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले पाँच मिनेटभित्र ३ गोल खाएपछि नेपालको बिग्रिएको र फराकिलो हार व्यहोर्नु परेको बताएका छन् ।
जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा घरेलु टोलिसँग ७-० ले पराजित भएपछि श्रेष्ठले पाँच मिनेटको अन्तरमा ३ गोल खानु नै खेलमा घातक बनेको बताए ।
'हामीले पाँच मिनेटमा ३ गोल खाएपछि खेलको गति पूर्णरुपमा परिवर्तन भयो,' श्रेष्ठले भने, 'हामीले कडा टक्कर दिइरहेका थियौं तर नतिजा अफरक भयो ।'
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनसँग नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा दुई गोल खाएको थियो ।
यस्तै प्रशिक्षक श्रेष्ठले जोर्डनका बलिया खेलाडीसँग नेपालका खेलाडीले प्रतिस्पर्धा गर्न नसकेको बताए ।
'हामीले जोर्डनका शारीरिक रुपमा बलियो खेलाडीसँग खेल्न सकेनौं,' श्रेष्ठले थपे ।
सन् २०२० मा आयोजना हुने यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह 'ए' मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार कुवेतसँग खेल्नेछ ।
यस्तै तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।