एजेन्सी । त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा बंगलादेशले जिम्बावेलाई ३ विकेटले पराजित गरेको हो ।
ढाकामा जिम्बावेले दिएको १४५ रनको लक्ष्य बंगलादेशले १७ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
बंगलादेशको जितमा अफिफ होसेनले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोसाडेक होसेनले अविजित ३० रन बनाए ।
जिम्बावेका केली जार्भिस, टेण्डाइ छतरा र नेभिला मड्जिभाले २/२ विकेट लिए ।
यसअघि मैदान ओशिलो भएको कारण १८ ओभरमा झारिएको खेलमा जिम्बावेले पुरै ओभर खेल्दै ५ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
जिम्बावेका लागि रायन ब्रुलले अविजित ५७ रन जोड्दा कप्तान ह्यामिल्टन मासाकाज्डाले ३४ रन बनाए ।
जितसँगै बंगलादेशले २ अंक जोडेको छ ।
सिरिज अन्तर्गत अब जिम्बावेले शनिबार अफगानिस्तानसँग खेल्नेछ । यस्तै आइतबार बंगलादेशले अफगानिस्तानसँग खेल्नेछ ।
तीन राष्ट्रबीच ६ खेल हुनेछ ।