काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले विश्वकप छनोटमा चाईनिज ताईपेविरुद्व प्राप्त जितलाई सुरुवात मात्र रहेको बताएका छन् ।
विश्वकप छनोटमा ऐतिहासिक जित दर्ता गर्ने क्रममा दुई गोल गरेका अन्जनले सपना पुरा गर्न अझै बहादुरीपुर्ण प्रर्दशन गर्न आवश्यक रहेको बताएका हुन् ।
चोट मुक्त हुदै मैदान फर्कन निकै कठिन रहेको उल्लेख गर्दै अन्जनले देशकालागि अन्तिममा आफुले सक्दो उत्कृष्ट प्रर्दशन दिन सकेको बताएका छन् ।
'मेरा सहकर्मीलाई धेरै धन्यवाद, विश्वास गरेकोमा प्रशिक्षकलाई धन्यवाद । चोटबाट मुक्त हुदै फर्कन निकै कठिन रह्यो । र अन्तिममा देशका लागि आफुले सक्दो उत्कृृष्ट दिन सकेको छु ।' उनले समाजिक सञ्जालमा लेखेका छन् ।
विश्वकप छनोट अन्तर्गत नेपालले समुह चरणको दोस्रो खेलमा चाईनिज ताईपेलाई २–० ले हराएको थियो । नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका थिए ।
ताईपेको घरेलु मैदानमा खेलको तेस्रो मिनेटमा अग्रता दिलाएका अन्जनले ६३ औ मिनेटमा दोस्रो गोल गरेका थिए ।
विश्वकप छनोटको दोस्रो चरणमा नेपालले ऐतिहासिक जित दर्ता गरेको हो ।
नेपालले फिफा वरियतामा आफु भन्दा ४१ स्थानमाथि रहेको ताईपेलाई पराजित गर्न सफल रह्यो ।
ताईपे १ सय २५ औ र नेपाल १ सय ६६ औ स्थानमा छ ।
नेपालले गत जेठमा समेत ताईपेसंग मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । सो खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको थियो । नेपालका लागि अभिषेक रिजालले बराबरी गोल गरेका थिए ।