काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ ।
मंगलबार भएको खेलमा घरेलु टोली चाईनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो ।
ताइपे स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन अन्जन बिष्ट नायक बने । दुवै गोल अन्जनले गरेका थिए ।
खेलको तेस्रो मिनेटमा हेड गोल गर्दै अन्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । रबी पासवानलाई लडाएपछि पाएको फ्रिकिकमा अन्जनले गोल गरेका हुन् । सुजल श्रेष्ठको फ्रिकिकमा अन्जनले हेड गोल गरेका थिए ।
त्यसपछि खेलको दोस्रो हाफको ६३ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को जित दिलाए । सुजलकै हेड पासमा अन्जनले उत्कृष्ट गोल गरेका थिए ।
योसँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा ऐतिहासिक जित दर्ता गरेको छ । यस्तै ताइपेविरुद्ध पनि नेपालको पहिलो जित हो । यसअघि गत जेठमा भएको मैत्रिपूर्ण खेलमा नेपालले ताइपेसँग १-१ गोलको बराबरी खेलेको थियो ।
ताइपेविरुद्धको जितसँगै मुख्य प्रशिक्षक योहान कालिनले ६ खेलपछि जित निकालेका छन् ।
जितसँगै समूह 'बी' को नेपालले २ खेलबाट ३ अंक जोडेको छ । र, नेपाल समूहको तेस्रो स्थानमा रहेको छ ।
छनोटको पहिलो खेलमा भने नेपाल कुवेतसँग उसैको मैदानमा ७-० ले पराजित भएको थियो ।
ताइपेको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ताइपे जोर्डनसँग २-१ ले पराजित भएको थियो । ताइपे पुछारमा रहेको छ ।
अब नेपालले अक्टोबर १० मा अष्ट्रेलिया र अक्टोबर १५ मा जोर्डनसँग खेल्नेछ ।