काठमाडौं । नेपाल किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गरेकी हुन् ।
सावित्राले खेलको ८५ औं मिनेटमा गोल गरेकी हुन् । गिता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन् । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो ।
कप्तान निरु थापाबिना मैदान उत्रिएको नेपालले पहिलो हाफमा पाएको मौका सदुपयोग गर्न सकेको थिएन् । उज्वेकिस्तानविरुद्धको खेलमा घाईते भएपछि निरु मैदान बाहिर रहेकी हुन् । निरुको अनुपस्थितिमा नेपालको कप्तानी रेनुका नगरकोटीले गरेकी छिन् ।
ताजिकिस्तानविरुद्ध पहिलो हाफमा नेपालले एक गोल गरेपनि गोलको मान्यता पाएको थिएन् । पहिलो हाफको इन्जुरी समयमा मन्जली कुमारी योन्जनले गोल गरेपनि रेफ्रीले अफसाइडको इशारा गर्दा नेपाल अग्रता बनाउन चुकेको थियो ।
दोस्रो हाफमा भने प्रशिक्षक हरि खड्काले तीन फरवार्डलाई मैदान उतारेका थिए ।
जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ । नेपालले पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो ।
अब नेपालले बिहिबार हुने फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको लिग खेलमा नेपाललाई उज्वेकिस्तानले २-० ले हराएको थियो ।
घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा नेपालले यस प्रतियोगिता खेलेको हो । १३ औं साग मंसिर १५ बाट २४ सम्म हुनेछ ।