काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा भारत पराजित भएको छ ।
बिहिबार भएको खेलमा भारत घरेलु मैदानमा ओमानसँग २-१ गोल अन्तरले पराजित भएको हो । गुवाहिटीमा सुरुवाती अग्रता बनाएपनि भारत पराजित भएको हो ।
खेलको २४ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्तिम १० मिनेटमा दुई गोल खादा भारत पराजित भयो ।

खेलको ८२ औं मिनेटमा अल मान्दरले गोल गर्दै ओमानलाई खेलमा फर्काए । त्यसपछि खेलको ९० औं मिनेटमा मान्दरले व्यक्तिगत दोस्रो गोल गर्दै ओमानलाई २-१ को जित दिलाए ।
जितसँगै समूह 'ई' को ओमानले ३ अंक जोडेको छ । भारतले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।