काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत पहिलो पटक सिधै दोस्रो चरण खेल्ने अवसर पाएको नेपालको राष्ट्रिय पुरुष फुटबल टिमले बिहिबार कुवेतसँग खेल्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोटको सुरुवात गर्दैछ ।
यसअघि पहिलो चरण खेलेर मात्रै नेपाल दोस्रो चरण पुग्ने गरेको थियो ।
एएफसीले अन्तिम ३८ टिमलाई सिधै दोस्रो चरण खेल्ने व्यवस्था मिलाएपछि नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न पाएको हो ।
नेपालले पहिलो खेल बिहीबार कुवेतविरुद्व खेल्दैछ ।
कुवेतविरुद्व हुने अवे खेल जविर अल अहमेद इन्टरनेश्नल मैदानमा रातको पौने ११ बजे सुरु हुनेछ ।
नेपाल समूह बी रहेको छ ।
नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताईपे रहेका छन् । नेपालले सबै टिमसंग होम एण्ड अवेका आधारमा खेल्नेछ ।
नेपाल छनोटको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछ ।
नेपालको तुलनामा कुवेत बलियो टिम हो । कुवेत शारीरिक तथा प्राविधिक रुपमा निकै बलियो छ । उसका खेलाडीलाई उचाईले समेत साथ दिनेछ ।
नेपाली टिमलाई कुवेतमा तापक्रमको पनि समस्या हुन सक्छ । नेपालले कुवेतमा ४५ डिग्री तापक्रमकाबीच अभ्यास गर्दै आईरहेको छ ।
पछिल्लो नतिजालाई हेर्दा कुवेतका अगाडी नेपालको प्रर्दशन कमजोर छ ।

कुवेतविरुद्व नेपाले पछिल्लो समय चैतमा दुई मैत्रिपुर्ण खेल खेलेको थियो ।
चैत पहिलो साता भएको खेलमा पहिलो खेल गोलरहित बराबरी सकिएको थियो । दोस्रो खेलमा भने नेपाल १–० गोल अन्तरले पराजित भएको थियो । कुवेतले गरेको एक गोल समेत पेनाल्टीमा सम्भव भएको थियो ।
तर त्यसयता कुवेत टिमले निकै राम्रो तयारी गरेको छ । युरोप भ्रमणमा रहेको उसले मैत्रिपुर्ण खेलमा पनि धेरै सहभागीता जनाएको थियो । त्यसको विपरित नेपालले एक मात्र मैत्रीपूर्ण म्याच खेल्यो ।
मलेसियाको लिग च्याम्पियन जोहोर दारुल टाजिमसंगको खेलनै नेपाललाई अनुभव बटुल्ने अवसर बन्यो ।
मुख्य प्रशिक्षक जोहान कालिनले फिफा विश्वकप अघि टिमलाई फिटनेसमा विशेष ध्यान दिएका थिए । सोही कारण उनले नियमित कप्तान विराज महर्जनलाई टिम बाहिर राखे । उनको विकल्पको रुपमा टिमको कप्तानी किरण चेम्जोङले गर्नेछन् ।
कालिनले यसअघि फरवार्ड बिमल घर्ति मगरलाई पनि फिटनेसको कारण देखिउँदै टिम बाहिर राखेका थिए । प्रशिक्षक कालिनले खेलाडीलाई तयारीका लागि भन्दै ४ दिन अघिनै कुवेत लगेका थिए ।

हेड टु हेड
तुलनात्मक रुपमा बलियो रहेको कुवेत र नेपालबीच धेरै खेल त भएका छैनन् । जति भएका छन्, कुवेत बलियो देखिन्छ । हेड टु हेडको आधारमा खेलिएका ६ खेलमा कुवेत ५ मा सफल भएको छ । एक खेल बराबरीमा सकिएको छ ।
नेपालले सन् १८८२ नोभेम्बरमा भएको एसियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो भेट सन् १९८६ को एसियन गेम्समा भएको थियो । नेपाल ५–० गोल अन्तरले पराजित भयो ।
सन् १९९४ मा भएको एसियन गेम्समा नेपालले कुवेतसँग सबैभन्दा खराब नतिजा निकाल्यो । नेपाल ८–० गोल अन्तरले पराजित भएको थियो ।
सन् २००० मा भएको एसियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो ।
लगातार चार हारको श्रृङ्खला सन् २०१९ मा रोकियो । जोहान कालिनको नेतृत्वमा नेपालले चैत पहिलो साता कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । योनै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।
कालिनले पहिलो विदेश यात्रामा ५ खेलाडीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएको थिए । पहिलो खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा १–० ले पराजित भयो । कुवेतले पेनाल्टीमा गोल गर्दै नेपाललाई निराश बनाएको थियो ।
यो पनि
प्रमाणित गर्नुपर्ने समय आएको छ - रोहित