काठमाडौं। चेल्सी क्लब विश्वकपको क्वार्टरफाइनलमा पामेइराससँग खेल्नु अघि आफ्नो आक्रमण लाइन थप मजबुत बनाउने तयारीमा छ।
बेलायती मिडिया द एथ्लेटिकका अनुसार चेल्सीले ब्राइटनबाट ५० मिलियनभन्दा बढी खर्चिएर ब्राजिली फरवार्ड जोआओ पेड्रोलाई भित्र्याउने भएको छ।
पेड्रो मेडिकल परीक्षणका लागि अमेरिका जाँदैछन्। त्यसपछि चेल्सी टोलीमा औपचारिक रूपमा समावेश हुनेछन्। २३ वर्षीय जोआओ पेड्रोले ब्राइटनमा दुई वर्ष बिताए।
उनी वाटफोर्डबाट ३० मिलियनमा क्लबको रेकर्ड साइनिङ बनेका थिए। उनले ब्राइटनका लागि ७० खेलमा ३० गोल गरेका छन्। तर, सिजनको अन्त्यतिर टिममेट जान पउल भान हेकेसँगको विवादपछि अन्तिम दुई खेल गुमाएका थिए।
फिफाले क्लब विश्वकपको नकआउट चरणका लागि सहभागी क्लबहरूलाई जुलाई ३ सम्म नयाँ खेलाडी दर्ता गर्न अनुमति दिएको छ। त्यसैले चेल्सीले पेड्रोलाई समयमै खेलाउन सक्ने सम्भावना उच्च छ।
चेल्सीले बोरुसिया डोर्टमुण्डका २० वर्षीय विंगर जेमी गिटेन्सलाई अनुबन्ध गर्न सहमति जनाइसकेको छ। २० वर्षीय गिटेन्सको ट्रान्सफर डिल ६५ मिलियन (झण्डै ७६ मिलियन) सम्मको हुने अनुमान छ।
यसै समरमा चेल्सीले स्ट्राइकर लियाम डेल्याप, मिडफिल्डर डारियो एसुगो, र डिफेन्डर ममादु सारलाई पनि अनुबन्ध गरिसकेको छ।