अजितलाई हेपाटाइटिस बी, साग टिम बाहिर
काठमाडौं । एथ्लेटिक्सका युवा स्टार अजित कुमार यादव नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणबाट बाहिरिएका छन् ।
युथ एसियन च्याम्पियनसिप अन्तर्गत ३ हजार मिटरमा स्वर्ण जितेर तहल्का मच्चाएका अजित स्वास्थ्यमा समस्या आएपछि साग टिमको बन्द प्रशिक्षणबाट बाहिरिएका हुन् ।
हङकङमा भएको तेस्रो संस्करणको च्याम्पियनसिपमा स्वर्ण जितेर इतिहास रचेका अजितलाई हेपाटाइटिस बी भएपछि टिमको प्रशिक्षणबाट बाहिर राखिएको एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङले जानकारी गराए ।
'अजितको दुई पटकको मेडिकल रिपोर्टमा हेपाटाइटिस बी पोजिटिभ पाईएको छ । जसका कारण अजित टिममा छैनन्,' खेलपाटीसँग कुरा गर्दै प्रशिक्षक गुरुङले खेलपाटीसँग भने, 'पूर्ण रुपमा ठिक नभएसम्म टिममा फर्कदैन् ।'
हेपाटाइटिस बी भएपछि अजितले नेपालमा आयोजना हुने साग खेलकुद गुमाउने भएका छन् । तर, उनलाई वैकल्पिक खेलाडीको रुपमा भने टिममा राखिएको प्रशिक्षक गुरुङले जानकारी गराए ।
'केहि महिनामा अजित ठिक भएपनि टिममा उनलाई राखी हाल्न मिल्दैन । रोग ठिक बनाउन खाएको औषधिले अजित डोपिङमा पर्ने सम्भावना हुन्छ । त्यसैले सागमा उनको सम्भावना कम छ,' प्रशिक्षक गुरुङले थपे ।
नेपाल एथलेटिक्स संघले शनिबार आयोजना गरेको छनोट खेलमा समेत अजितले आफ्नो स्पर्धातर्फ दुरी पुरा गर्न सकेका थिएनन् ।
भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा भएको छनोटमा अजितले पाँच हजार मिटरमा सहभागिता जनाएका थिए ।
'अजितले छनोटमा समेत राम्रो गर्न सकेन । पाँच हजार मिटरमा उनले अन्तिम दुई ल्याप बाँकी रहदा दौड त्यागेका थिए,' प्रशिक्षक गुरुङले भने ।
अजितले साग टिमको बन्द प्रशिक्षणमा करिब एक महिना बिताएका थिए । गत साउनबाट अजित नेपाली टिमको प्रशिक्षणमा सहभागी भएका थिए ।
सागका लागि अहिले ४७ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । जसम १९ महिला र २८ पुरुष खेलाडी रहेका छन् ।












-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)