एजेन्सी । इन्ग्लिश प्रिमियर लिगमा आज (आइतबार) दुई ठुला क्लब आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ ।
उपाधि दाबेदारको रुपमा रहेका आर्सनल र टोटेनहमबीचको खेल नेपाली समय अनुसार राति ९:१५ मा सुरु हुनेछ । खेल आर्सनलको घरेलु मैदानमा हुनेछ ।
इमिरेट्स स्टेडियममा मैदान उत्रदा घरेलु टिम आर्सनल तेस्रो जितको खोजीमा हुनेछ । घरेलु मैदान र समर्थकको साथ पाउने आर्सनल उच्च मनोबलका साथ मैदान उत्रने छ ।
आर्सनलले अघिल्ला तीन खेलमा दुई जित र एक हार व्यहोरेको थियो । आर्सनलले ३ खेलमा ६ अंक जोडेको छ । र, लिगको छैटौं स्थानमा छ ।
यता, टोटेनहम घरेलु टोलीलाई पराजित गर्दै दोस्रो जित निकाल्न चाहन्छ । त्यसैले दुईबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
टोटेनहमले अघिल्ला ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको छ । ४ अंक जोडेको टोटेनहम लिगको १० औं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत नै आइतबार एभर्टन र वुल्भ्सबीच खेल हुनेछ । एभर्टन दोस्रो जितको खोजीमा हुनेछ । वुल्भ्स भने पहिलो जित निकाल्ने योजनामा हुनेछ ।