भैरहवा । १९ औं संस्करणको लिस्नु कप फुटबल प्रतियोगिता अर्को साताबाट सुरु हुने भएको छ ।
आयोजक लिस्नु युवा क्लब तिलोत्तले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २१ गतेबाट सुरु हुने जनाएको छ ।
रुपन्देही जिल्लाकै पुरानो नकआउट फुटबल प्रतियोगिता लिस्नु कप आगामी असोज ३ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा प्रदेश ५ का रुपन्देही, नवलपरासी, कपिलबस्तु, दाङ तथा गण्डकी प्रदेशको स्यांग्जा र प्रदेश नम्बर ३ को चितवन जिल्लाका क्लबले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष तिर्थ राज मल्लले जानकारी गराए ।
प्रतियोगितामा आयोजक लिस्नु क्लब, नवयुबा खेलकुद तथा सास्कृतिक परिवार ठुटिपिपल(रुपन्देही), फुलबारी गाईज(बुटवल),फर्साटिकर फुटबल क्लब, फर्साटिकर(रुपन्देही), झरना स्पोर्टिंग क्लब, कुन्जलापुर(रुपन्देही), जय बुद्ध सामाजिक युबा क्लब शिबराज नगर पालिका (कपिलबस्तु), नवलपरासीको नवलपरासी-११ र देशभक्त युबा क्लब, युएनबिएल एकेडमि घोराही(दांग), वालिंग नगर पालिका(स्यांगजा) तथा चितवनका भरतपुर फुटबल क्लब र जु फुटबल क्लब रहेका छन् ।
रुपन्देहीको कोटीहवास्थित पशुपति उच्च माबिको मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया पाउने आयोजकले जनाएको छ । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै सर्वोकृष्ट खेलाडीले २५ हजार, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकले समान ७/७ हजार र उदयमान खेलाडीले ५ हजार पाउने छन् ।
प्रतियोगिताको विजेताले पाउने पुरस्कार क्या. कुल प्रसाद गुरुङले सौजन्य गरेको प्रतियोगिता संयोजक नेम प्रसाद गुरुङले जानकारी दिए । आफ्ना स्व बुवा सिंहविर गुरुङ र आमा पवित्रा गुरुङको नाममा क्या. गुरुङले विजेताको रकम सौजन्य गरेका हुन् ।