काठमाडौं । अघिल्ला दुई संस्करणमा उपाधि नजिक पुगेको नेपाल दुवै पटक फाइनलमा भारतसँग पराजित हुँदै यू–१५ साफको च्याम्पियन बन्न असफल भएको थियो ।
कोलकत्तास्थित कल्याणीमा शनिबार नेपालले आयोजक भारतसँगै पाचौं संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि खेल्दैछ । नेपाल र भारतबीचको फाइनल खेल दिउँसो ३ बजे सुरुहुनेछ ।
पाँचौ संस्करणको फाइनलमा भने नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा दोस्रो स्थानमा रहेर फाइनल पुगेको नेपाल इतिहास बनाउने लक्ष्यमा हुनेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतीय टिमलाई रोक्दै इतिहास रच्न त्यहिँ अनुसार रणनीति बनाउने छन् ।
‘भारतीय टिम निकैनै बलियो छ । उसका विङ्गर धेरे बलिया छन्,’ फाइनल अघि श्रेष्ठले भने, ‘हाम्रो पनि खेल खेल्दै जादा सुधार भईरहेको छ । खेलाडी पनि फिट छन् । विपक्षीको खेल अध्ययन गरेका छौं । त्यसै अनुसार खेल्छौं ।’
बलियो भारतलाई उसैको मैदानमा रोक्न नेपाललाई कठिन हुनेछ । भारत प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने एक्लो टिम हो । तर, नेपाल पहिलो खेलमा भारतसँग व्येहोरेको हारको बदला लिन चाहन्छ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । त्यसपछि भने नेपालले लगातार जित निकालेको थियो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–०, तेस्रो खेलमा बंगलादेशलाई ४–१ र अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
यता, भारत भने उपाधि जित्दै यू-१५ साफको इतिहासलाई कायम राख्ने योजनामा हुनेछ । भारतले सन् २०१३ र २०१७ मा उपाधि जित्दा २ पटकनै नेपाललाई फाइनलमा हराएको थियो ।
भारतीय प्रशिक्षक विविआनो फर्नान्डेजले आफ्नो खेलाडी निकै मिहेनत गरिरहेको र फाइनलमा पनि अघिल्ला प्रदर्शनलाई कायम राख्नेमा विश्वस्त रहेको बताए ।
‘खेलाडीहरुले राम्रो गरिरहेका छन् । फाइनल खेलमा पनि सोहि प्रदर्शन दोहोराउनेमा विश्वस्त छु,’ नेपालसँगको खेलअघि फर्नान्डेजले भने ।
पहिलो खेलमै नेपाललाई सजिलै पराजित गरेको भारतले दोस्रो खेलमा भुटान, तेस्रो खेलमा श्रीलंका र अन्तिम खेलमा साविकको विजेता बंगलादेशलाई पराजित गरेको थियो ।