एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका स्टार लियोनल मेस्सीसँग डिनर गर्ने आफ्नो चाहना रहेको बताएका छन् ।
फ्रान्सको मोनाकोमा बिहिबार राति आयोजना भएको युईएफए वर्ष खेलाडी अवार्ड कार्यक्रममा बोल्दै रोनाल्डोले भविष्यमा मेस्सीसँग बसेर आफुले डिनर गर्ने बताए ।
'पक्कै पनि हामीबीच राम्रो सम्बन्ध छ । हामीले अहिलेसम्म संगै डिनर गरेका छैनौँ । तर, मलाई आशा छ भविष्यमा हुनेछ,' रोनाल्डोले भने ।
विश्व फुटबलमा अर्जेन्टिनाका मेस्सी र पोर्चुगिज रोनाल्डो ठुला प्रतिद्वन्दी हुन् । विश्व फुटबलमा मेस्सी र रोनाल्डोबीच महान र उत्कृष्ट खेलाडी को भन्नेमा सधै विवाद रहदै आएको छ ।
मेस्सी र रोनाल्डोले पछिल्लो १० वर्षमा समान पाँच पाँच पटक बालोन डी'ओर अवार्ड जितेका छन् । स्पेनिस ला लिगाको एल क्लासिको भिडन्तमा मेस्सी र रोनाल्डोकै चर्चा हुने गर्थ्यो । तर, गत सिजन रोनाल्डो रियल मड्रिड छाडेर युभेन्ट्स आएका थिए ।
'म उत्सुक थिए किनभने हामीले यो स्टेज १५ वर्षबाट सेयर गरिरहेका छौँ,' मेस्सीसँगको प्रतिस्पर्धा कतिको महसुस हुन्छ भन्ने प्रश्नमा रोनाल्डोले थपे, 'मलाई थाहा छैन कि यो फुटबलमा कहिलै भएको छ । हामी दुई जना एकै समयमा यो स्टेजमा छौँ । त्यसैले यो सहज छैन ।'
तर, यस सिजनको युईएफए प्लेयर अफ दि इयर अवार्ड भने लिभरपुलका भिर्गिल भान डायकले जितेका थिए । डिफेन्डर डायकले मेस्सी र रोनाल्डोलाई नै पछि बनाए ।