बेलझुण्डी । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश स्तरीय लिगमा बाँकेको अपराजित यात्रा कायमै छ । बुधबार भएको खेलमा बाँकेले नवलपरासीलाई ३–१ ले हराउँदै तालिकाको शीर्ष स्थानमा यथावत छ ।
जितसंगै बाँकेको लिग च्याम्पियनको सम्भावना समेत कायमै छ । लिगमा रोल्पासंग बराबरी खेलेको बाँकेले बाँकी खेलमा भने जित हासिल गर्न सफल भएको थियो ।
बाँकेको जितमा संजीव थापा, रवि जिएम र बिक्रम सिंह ठकुरीले गोल गरे । नवलपरासीका सनम मगरले एक गोल फर्काए । लिग चरणको अन्तिम खेलमा जित निकाल्न सकेमा बाँके लिग च्याम्पियन बन्ने छ ।
बुधबार बेलुका भएको रुपन्देही र रोल्पाबीचको खेल बर्षाले प्रभावित बन्यो । दोश्रो हाफ शुरु भए लगत्तै अविरल बर्षाले मैदान खेल्न नमिल्ने बनेको थियो । पहिलो हाफसम्म रुपन्देही २–१ ले अघि थियो ।
अब बर्षाले प्रभावित खेल भोली दिउँसो हुनेछ । त्यसअघि दाङ र बाँकेबीच प्रतिस्पर्धा हुनेछ । दाङविरुद्व जित निकाल्न सफल भएका बाँके लिग च्याम्पियन बन्नेछ ।
नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा भइरहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।