काठमाडौं । भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत अन्तिम लिग खेल्न नेपालले बिहिबार (भोलि) भुटानको सामना गर्दैछ ।
भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह १२:१५ मा सुरु हुनेछ । र, भुटानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।
उपाधि जित्ने लक्ष्यसहित भारत गएको नेपाली टोलीलाई फाइनल पुग्न भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ ।
त्यसैले नेपाल अन्तिम खेलमा भुटानलाई हराउने योजनासहित नै मैदान उत्रनेछ । भुटानका लागि भने यस खेल अर्थविहिन रहेको छ । तर, नेपाललाई स्तब्ध बनाउदै भुटान सान्त्वना जित निकाल्न चाहन्छ ।
प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।
नेपालले मंगलबार साविकको विजेता बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । त्यसअघि नेपालले दोस्रो खेलमा श्रीलंकालाई २-० ले हराएको थियो । नेपाल पहिलो खेलमा भने भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।
अपराजित भारत ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ६ अंक जोडेर तेस्रो स्थानमा छ । अन्तिम खेलमा बंगलादेशले बलियो भारतको सामना गर्नेछ । जसको कारण पनि भुटानलाई हराए नेपालको फाइनल यात्रा सहज हुनेछ ।
हेड टु हेडमा नेपालसँग बंगलादेश पछि परेको छ । बंगालदेशलाई फाइनल पुग्न भारतविरुद्ध कम्तिमा ४-० गोल अन्तरको जित निकाल्नु पर्ने हुन्छ । भारतलाई फाइनल पुग्न बराबरीले पुग्ने छन् ।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन् ।
