एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा सिटीले बर्नेमाउथलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।
बर्नेमाउथको घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरे । घरेलु टोलीका ह्यारी विलसनले एक गोल फर्काए ।

खेलको १३ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । ४३ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
खेलको ४५ औं मिनेटमा विलसनले गोल गर्दै घरेलु टोलीलाई २-१ स्थितिमा ल्याए । तर, खेलको ६४ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जितसँगै सिटीले ३ खेलबाट ७ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ । पराजित बर्नेमाउथको ३ खेलबाट ४ अक रहेको छ । बर्नेमाउथको यो पहिलो हार हो ।
बर्नेमाउथविरुद्धको खेलसँगै कप्तान डेभिड सिल्भाले क्लबका लागि ४ सयौं खेल पुरा गरे । सिल्भा सिटीबाट ४ सय खेल पुरा गर्ने १४ औ खेलाडी बने ।
सिल्भा सन् २०१० मा भ्यालेन्सियाबाट सिटी आएका थिए ।
