एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले आज (आईतबार) राति बर्नेमाउथसंग खेल्दैछ । सिटीका मिडफिल्डर डेभिड सिल्भा मैदान उत्रिएको खण्डमा उनले नयाँ कीर्तिमान रच्नेछन् । अर्थात उनी सिटीबाट ४ सय खेल पुरा गर्ने १४ औ खेलाडी बन्नेछन् ।
सिल्भा आफैले सिजनको अन्तिममा क्लब छाड्ने घोषणा गरिसकेका छन् । उनी सन् २०१० मा भ्यालेन्सियाबाट सिटी आएका थिए । उनी के आए, सिटीको ईङ्लिस फुटबलमा नयाँ राज सुरु भयो ।
सिल्भाले चार लिग उपाधि, दुई एफए कपको उपाधि र चार लिग कप जिते । त्यो समय सिटीले सिल्भाका लागि २६ मिलियन पाउण्ड खर्च गरेको थियो ।
खेलअघि सिल्भाको प्रसंसामा सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘उनी अविश्वसनीय खेलाडी हुन् । उनी मैले देखेका मध्य सबै भन्दा उत्कृष्ट हुन् ।’
‘उनीसंग भएको क्षमताले मात्र हैन । उनी अभ्यास खेलमा समेत ज्यादै प्रतिस्पर्धी देखिन्छन् ।’ उनले थपे, ‘प्रिमियर लिग सजिलो छैन । तर उनले गरेर देखाए । उनलाई यसमा गर्व हुनपर्छ ।’
सिटीले सिजनको दोस्रो खेलमा टोटेनहमसंग बराबरी खेल्यो । उपाधि दाबेदार मानिएका दुवै टोलीले अंक बाँडे ।
सिटीका जोन स्टोन्स चोट मुक्त हुदै मैदान फर्कने तयारी गरेका छन् । तर लामो समय मैदान बाहिर रहेका लेरो साने र बेन्जामिन मेन्डीलाई त्यो सुविधा रहने छैन ।
यता बर्नेमाउथ घरेलु मैदानमा सिटीलाई स्तब्ध पार्ने दाउमा छ । दर्शक र घरेलु मैदानको साथले खेलाडीलाई प्रोत्साहन गर्ने प्रशिक्षक होवी बताउँछन् ।
बर्नेमाउथका प्रशिक्षक एडी होवीले भने, ‘रहिम स्टलिङले पछिल्लो सिजन निकै उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनी एक अविश्वसनीय प्रतिभा हुन् ।’
‘मुख्य कुरा हामीसंग समर्थकको साथ रहनेछ । समर्थकको साथमा आईतबार राम्रो वातावरण बन्नेछ ।’ उनले थपे ।