एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आइतबार (आज) विभिन्न ३ खेलहरु हुँदैछ । आइतबार साविकको विजेता म्यानचेस्टर सिटी, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
सिटीले सिजनको तेस्रो खेलमा बर्नेमाउथसँग उसैको मैदानमा खेल्दैछ । सिटी र बर्नेमाउथबीचको खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुनेछ ।
बर्नेमाउथको मैदानमा सिटी दोस्रो जितको खोजीमा रहने छ । अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेको सिटी तेस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा हुनेछ ।
यता, बर्नेमाउथ पनि घरेलु मैदानमा सिटीलाई हराउने योजनामा हुनेछ । बर्नेमाउथले अघिल्ला दुई खेलमा एक जित र एक बराबरी नै खेलेको थियो ।
लिगमा सिटी र बर्नेमाउथको समान ४/४ अंक रहेको छ । गोल अन्तरमा अघि रहेको सिटी चौंथो र बर्नेमाउथ आठौं स्थानमा रहेको छ ।
पछिल्लो समय सिटीका यूवा फरवार्ड रहिम स्ट्रर्लिङ निकै लयमा रहेका छन् । अघिल्ला दुवै खेलमा उनले गोल गरिसकेका छन् । यस्तै सिटीलाई सर्जियो अग्युरो, डेभिड सिल्भा, केभिन डी ब्रुयन लगायतका खेलाडीको साथ रहनेछ ।
प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले घरेलु मैदानमा न्युकासल युनाईटेडको सामना गर्दैछ । टोटेनहम र न्युकासलबीचको खेल ९:१५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा टोटेनहम दोस्रो जितको खोजीमा हुनेछ । टोटेनहमले अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेको थियो ।
अघिल्ला दुवै खेल गुमाएको न्युकासल पहिलो जितको खोजीमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा वुल्भ्सले बर्नलीको सामना गर्नेछ ।