एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार स्ट्राइकर नेयमार अनुबन्धका लागि बार्सिलोनालाई कप्तान लियोनल मेस्सी र फरवार्ड लुइस स्वारेजले दबाब दिएका छन् ।
अन्तराष्ट्रिय मिडिया ईएपीएनका अनुसार नेयमार फर्काउन कप्तान मेस्सी र स्वारेजले क्लबको व्यवस्थापनलाई दबाब दिइरहेको जनाएको छ ।
पछिल्लो समय बार्सिलोना पनि नेयमार फर्काउन तयारी गरिरहेको छ । बार्सिलोनाले लोन अथवा अन्य खेलाडीसँग साट्न समेत पीएसजीसँग आग्रह गरिसकेको छ । तर, बार्सिलोनाले पहिलो चरणमा गरेको प्रस्ताव पीएसजीले अस्वीकार गरिरहेको छ ।
नेयमारले स्पेन छाडेर फ्रान्स जानु अघि बार्सिलोनामा मेस्सी, स्वारेजसहितको तीन जनाको जोडी निकै जमेको थियो । मेस्सी, नेयमार र स्वारेजले अट्याकिङ लाइनअपलाई एमएसनको नामले चिनिएको थियो ।
तीन सिजनमा मेस्सी, स्वारेज र नेयमारको जोडीले बार्सिलोनाका लागि ३६४ गोल गरेका थिए । तर, नेयमार कीर्तिमानी मूल्यमा सन् २०१७ मा पीएसजी गएका थिए ।
पीएसजीसँग पछिल्लो समय असमझदारी बढेसँगै ब्राजिलियन फरवार्ड नेयमारले क्लब छाड्ने योजना बनाएका छन् । जसमा उनको पहिलो चाहना पनि बार्सिलोना फर्कने रहेको छ ।
यता, नेयमार अनुबन्धको लागि अर्को स्पेनीस क्लब रियल मड्रिडले समेत चासो देखाएको छ । इटालियन क्लब युभेन्ट्स समेत लागिपरेको छ ।