एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका युवा फरवार्ड ओस्माने डेम्बेले पाँच हप्ता मैदान बाहिर रहने भएका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेलमा चोट बोकेका २२ वर्षे डेम्बेले पाँच हप्ता मैदान बाहिर रहने भएका हुन् ।
फ्रेन्च फरवार्ड डेम्बेलेले एथ्लेटिको बिल्बाओसँगको खेलमा चोट बोकेका थिए । उक्त खेल बार्सिलोनाले १-० ले गुमाएको थियो ।
बार्सिलोनाले ह्यामिस्ट्रिङ चोट बोकेको कारण डेम्बेले पाँच साता मैदान बाहिर रहने पुष्टि गरेको छ ।
'मेडिकल रिपोर्ट अनुसार उनको बायाँ खुट्टाको ह्यामिस्ट्रिङ भएको छ र फ्रान्सका डेम्बेले करिब पाँच हप्ता बाहिर रहने छन्,' बार्सिलोनाले प्रेस विज्ञप्ति निकाल्दै भनेको छ ।
डेम्बेले पनि घाईते भएपछि बार्सिलोना समस्यामा परेको छ । चोट बोकेका कप्तान लियोनल मेस्सी र लुइस स्वारेज पनि टिम बाहिर रहेका छन् ।