एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका अट्याकिङ मिडफिल्डर फिलिपे कौटिन्होले क्लबबाट धेरै उपाधि जित्ने चाहना रहेको बताएका छन् ।
स्पेनिस क्लब बार्सिलोनाबाट एक वर्षका लागि लोनमा क्लब आएका ब्राजिलियन प्ले मेकर कौटिन्होले स्पेनमा आफुले सोचे जस्तो नभएको तर वायर्नमा लामो समय बस्न र धेरै उपाधि जित्ने चाहना रहेको बताए ।
'बार्सिलोनामा हामीले कल्पना गरेको जस्तो धेरै कुरा भएन । तर, यो इतिहास भएको छ,' कौटिन्होले भने, 'मलाई आशा छ म यहाँ लामो समय रहने छु र धेरै उपाधि जित्न चाहन्छु ।'
जर्मन च्याम्पियन वायर्नले २७ वर्षे मिडफिल्डर कौटिन्होलाई ८.५ मिलियन युरोमा अनुबन्ध गरेको हो । यस्तै बार्सिलोनाले कौटिन्होलाई १२० मिलियन युरोमा किन्नका लागि अवसर समेत दिएको छ ।
यस्तै वायर्नले कौटिन्होलाई १० नम्बरको जर्सी दिएको छ । यसअघि १० नम्बरको जर्सी आर्जेन रोबिनले लगाउदै आएका थिए ।
कौटिन्होले १० नम्बरको जर्सी पाएसँगै आफुलाई ठुलो जिम्मेवारी थपिएको समेत बताए ।
कौटिन्हो सन् २०१८ मा इन्ग्लिश क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाबाट ७६ खेलमा २१ गोल गरेका थिए ।