एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति एक खेल हुँदैछ ।
प्रिमियर लिगमा सोमबार म्यानचेस्टर युनाईटेडले वुल्भ्सको सामना गर्नेछ । वुल्भ्सको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।
वुल्भ्सको घरेलु मैदान भ्रमण गर्दा युनाईटेड लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा शानदार जित निकालेको युनाईटेड वुल्भ्सविरुद्ध त्यहिँ प्रदर्शन दोहोर्याउन चाहन्छ ।
घरेलु मैदानमा भएको सिजनको पहिलो खेलमा युनाईटेडले चेल्सीलाई ४-० गोल अन्तरले हराएको थियो । चेल्सीविरुद्धको जितले प्रशिक्षक ओले गुनार सोल्सायर निकै उत्साहित देखिएका छन् ।
प्रशिक्षक सोल्सायरले वुल्भ्सविरुद्ध चेल्सीसँगको खेल खेलका टिम नै मैदान उतार्ने सम्भावना रहेको छ । डिफेन्डर एरिक विली चोटका कारण मैदान उत्रने छैनन् । यस्तै भेट्रान स्ट्राइकर एलेक्सिस सान्चेज खेल्न नखेल्ने केहि तय भएको छैन ।
यता, वुल्भ्स युनाईटेडलाई स्तब्ध बनाएर पहिलो जित निकाल्न चाहन्छ । वुल्भ्स पहिलो खेलमा लेष्टरसँग गोलरहित बराबरी खेलेको थियो ।
वुल्भ्सलाई घरेलु समर्थकहरुको साथ पनि रहन्छ ।