एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटी र लिभरपुलका पूर्व स्ट्राइकर मारियो बालोटेली इटालियन क्लब ब्रेसियामा अनुबन्धित भएका छन् ।
ब्रेसियाले सोमबार इटालियन फरवार्ड बालोटेलीलाई अनुबन्ध गरेको जनाएको छ । यसै सिजन सिरी 'ए' लिगमा बढुवा भएको क्लब ब्रेसिया बालोटेलीको घरेलु शहरको क्लब समेत हो । २९ वर्षे बालोटेलीले ३ वर्षको सम्झौता गरेको बताईएको छ ।
गत सिजन बालोटेलीले फ्रेन्च क्लब मार्सेलीबाट खेलेका थिए । तर, बालोटेलीको मार्सेलीसँगको सम्झौता जुनबाट सकिएको थियो ।
सन् २०११–१२ मा इन्ग्लिश क्लब सिटीलाई प्रिमियर लिगको उपाधि जिताएका बालोटेली त्यसपछि लिभरपुल गएका थिए ।
लिभरपुलबाट उनी लोनमा इटालियन क्लब एसी मिलान गएका थिए । त्यसपछि सन् २०१६ मा लिभभरपुल छोड्दै बालोटेली फ्रेन्च क्लब नाइसमा पुगेका थिए । सिटी आउनु अघि उनले इन्टर मिलानबाट तीन सिजन खेलेका थिए ।
बालोटेलीले ३ पटक सिरी 'ए' उपाधि जितेका छन् । यस्तै एक च्याम्पियन्स लिग, एक इटालियन कप र एक प्रिमियर लिग जितेका छन् ।
बालोटेलीले इटालीबाट ३६ खेल खेलिसकेका छन् ।