एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब चेल्सी बराबरीमा रोकिएको छ ।
स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सी लेष्टर सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेलेको हो ।

खेलको सातौं मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । लेष्टरका मिडफिल्डर विल्फ्रेड एनडीडीको गल्तीमा मासोनले गोल गरेका थिए ।
तर, खेलको ६७ औं मिनेटमा लेष्टरका लागि एनडीडीले नै गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । उनले कर्नर बलमा हेड गोल गरेका थिए ।
यो बराबरीसँगै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले बराबरीबाट घरेलु मैदानमा डेब्यु गरेका छन् । र, लिगको दुई खेल सकिदा प्रशिक्षक लाम्पार्ड अझै जितविहीन बनेका छन् ।

बराबरीसँगै चेल्सीले नयाँ सिजनको २ खेलपछि पहिलो एक अंक जोडेको छ । यसअघि चेल्सी पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग ४-० ले पराजित भएको थियो ।
लेष्टरको भने यो दोस्रो बराबरी हो । पहिलो खेलमा लेष्टरले वुल्भ्ससँग गोलरहित बराबरी खेलेको थियो । लेष्टरले २ खेलबाट २ अंक जोडेको छ ।
