काठमाडौं । एसएनकेसी (ओडी यल्लो) ले प्रथम मोसेन खान स्मृति भेट्रान कप डे-नाइट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
चावहिल स्पोर्ट्स क्लबको आयोजनामा चावहिलस्थित गणेशथानमा भएको फाइनलमा एसएनकेसीले बनेपा ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्यो ।
विजयी टिमका लागि सरोज लामा र निमा लामाले १–१ गोल गरे भने एक गोल आत्माघाती रह्यो ।
एसएनकेसीका आकाश गुरुङ ‘म्यान अफ द म्याच’ भए । बनेपाका अमिम शाक्यले सान्त्वना गोल गरे । उपाधिसँगै एसएनकेसीले १ लाख र उपविजेता बनेपाले ५० हजार नगद पुरस्कार पाए ।
चावहिल खान परिवारको सहयोगमा भएको प्रतियोगितामा बनेपाका अमिम उत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा राजेन्द्र गौतम तथा डिफेन्समा प्रदीप लामा उत्कृष्ट चुनिए । दुवै उपाधि विजेता टोलीका हुन् ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका सदस्य समिम मियाँ अन्सारी, काठमाडौं महानगरपालिका वडा नं. ७ का शुद्धकुमार डंगोल, स्व. मोसेनकी धर्मपत्नी जमजम बानुलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
साउन २३ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।