एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।
लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए ।

घरेलु टिमविरुद्ध लिभरपुलले खेलको ४५ औं मिनेटमा मानेको गोलबाट अग्रता बनाएको थियो । ७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले एक गोल फर्काएपनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन् । लिभरपुलका गोलकिपर एड्रियनको गल्तीमा उनले गोल गरेका थिए ।

जितसंगै लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ । र, लिभरपुल तालिकाको शीर्ष स्थानमा छ ।
साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । दुई खेल सकिदा साउथह्याम्पटनले अंक जोड्न सकेको छैन ।

प्रिमियर लिग अन्तर्गत नै शनिबार भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दा नर्विचले न्युकासललाई ३-१ ले हराएको छ । त्यस्तै बर्नेमाउथले एस्टन भिल्लालाई २-१ ले हराउँदा ब्राइटन र वेष्ट ह्यामले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।