एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले फ्रेन्च लिग वान अन्तर्गत रेनसविरुद्धको खेल गुमाउने भएका छन् ।
साबिकको विजेता पीएसजीले लिगको दोस्रो खेलमा आइतबार रेनससँग उसैको मैदानमा खेल्दैछ । तर, प्रशिक्षक थोमस टुचेलले रेनसविरुद्ध खेल्ने टोलीमा नेयमारलाई राखेको छैन ।
प्रशिक्षक थोमसले चोटबाट पूर्ण रुपमा ठिक नभएको कारण नेयमारलाई टिममा नराखिएको जनाएको छ । निम्सविरुद्धको पहिलो खेलमा समेत नेयमार टिम बाहिर रहेका थिए ।
'उनले अभ्यास सुरु गरिसकेका छन् । तर, खेलका लागि उनी केहि चाँडो हुनेछ,' प्रशिक्षक थोमसले भने ।
रेनससँग खेल्ने टिममा नपरेपनि नेयमार शनिबार भएको टिमको अभ्यासमा सामेल भएका थिए । कोपा अमेरिका अघि नेयमारले चोट बोकेका थिए ।
यस्तै प्रशिक्षक थोमसले नेयमार क्लबमै रहने बताए । 'नेयमारको सम्झौता अझै ३ वर्ष बाँकी छ । अहिले कुनै परिवर्तन भएको छैन,' प्रशिक्षक थोमसले भने ।
पछिल्लो समय नेयमार बार्सिलोना फर्कने चर्चा रहेको छ ।