एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले ब्राजिलियन फरवार्ड नेयमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने बताएका छन् ।
स्पेनिस पत्रिका मार्कासँग कुरा गर्दै युभेन्ट्सका फरवार्ड रोनाल्डोले मिडियामा उनको बारे धेरै चर्चा भएपनि नेयमार पीएसजी मै बस्ने बताए ।
'रियल मड्रिड, बार्सिलोना र युभेन्ट्ससँग जोडेर उनको बारेमा धेरै कुरा हुन्छ । मिडियाको यो काम हो । किनकि उनीहरुले पत्रिका बेच्नु पर्छ,' रोनाल्डोले भने, 'तर, मेरो विचारमा उनी पेरिसमा रहन्छ । जहाँ उ खुशी छ र उनले आफ्नो फुटबल देखाउन सक्छ ।'
पछिल्लो समय नेयमार बार्सिलोना फर्कने हल्ला चलिरहेको बेला रोनाल्डोले भने उनि क्लबमै बस्ने बताएका हुन् । सन् २०१७ मा नेयमार बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजी आएका थिए ।
यस्तै रोनाल्डोले नेयमार विश्वको उत्कृष्ट खेलाडी रहेको तर उनलाई चोटले सताएको बताए । रोनाल्डोले चोटबाट बच्न उनले शतर्क हुनुपर्ने समेत बताए ।
'उ महान खेलाडी हो । मलाई राम्रोसँग थाहा छ । तर, उसले धेरै चोट बोक्ने गर्छ । मलाई आशा छ उ चोटबाट बच्नेछ । उसले आफ्नो चोटको चिन्ता समेत लिनुपर्छ,' रोनाल्डोले भने ।