एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिगको उपाधि जित्ने बताएका छन् ।
स्पेनिस पत्रिका मार्कासँग कुरा गर्दै युभेन्ट्सका फरवार्ड रोनाल्डोले क्लबले च्याम्पियन्स लिग जित्ने बताएका हुन् । तर, रोनाल्डोले क्लबले यहिँ सिजन उपाधि जित्छ भनेर ठोकुवा गर्न भने नसकिने बताए ।
'युभेन्ट्सले च्याम्पियन्स लिग जित्नेछ । मलाई थाहा छैन यो यस वा अर्को वर्ष हुनेछ । तर यो आउँदैछ,' रोनाल्डोले मार्कालाई भने ।
पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले स्पेनिस क्लब रियलबाट चार पटक च्याम्पियन्स लिग जितेका थिए । त्यसअघि उनले इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडबाट एक च्याम्पियन्स लिग जितेका थिए ।
३४ बर्षे रोनाल्डो गत सिजन रियलबाट युभेन्ट्स आएका थिए । तर, रोनाल्डोले गत सिजन युभेन्ट्सलाई च्याम्पियन्स लिग जिताउन सकेनन् । युभेन्ट्स क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
यस्तै रोनाल्डोले उपाधि जित्न आफु सक्षम रहेको तर आफुलाई नयाँ प्रेरणा चाहिएको बताए ।
'म परिवर्तन चाहन्छु र नयाँ प्रेरणा चाहिएको थियो',रोनाल्डोले भने, 'मसँग अझै पनि जित्ने शक्ति छ।'