एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक युनाई इम्रीले मिडफिल्डर मोसिट ओजिल र डिफेन्डर सिड कोलासिनाच खेलका लागि मानसिक रुपमा तयार नभएको बताएका छन् ।
फ्रेन्च क्लब लियोनसँगको मैत्रीपूर्ण खेलपछि बोल्दै प्रशिक्षक इम्रीले दुवै खेलाडी लुटेराको आक्रमणमा परेको र त्यसयता दुवै खेलाडी खेलका लागि शतप्रतिशत तयार नभएको बताए । लियोनसँगको खेलमा आर्सनल २-१ ले पराजित भएको थियो ।
'यो नितान्त व्यक्तिगत कुराहरु हो,' प्रशिक्षक इम्रीले भने, 'उनीहरुको दिमाग १०० प्रतिशत खेलमा छैन ।'
गत सातामात्र इंग्ल्याण्डको लण्डनस्थित एक सडकमा हतियारधारी समूहले ओजिल र कोलासिनाचलाई लुट्ने प्रयास गरेका थिए । तर, लुटेराहरुको प्रयास विफल भएको थियो ।
ओजिल र कोलासिनाचले बहादुरीपूर्ण तरिकाले लुटेराको समूहलाई लखेट्न सफल भएका थिए । लुटेराहरुको आक्रमणमा परेपनि ओजिल र कोलासिनाच सामान्य रहेको बताइएको छ ।
यस्तै प्रशिक्षक इम्रीले उनीहरु सामान्य अवस्थामा फर्किएपछि टिममा सामेल हुने बताए ।
'उनीहरु सामान्य बन्न परिवारसँग समय बिताउन उचित हुनेछ । हामीले उनीहरुलाई समय दिएका छौँ । त्यसपछि टिममा फर्कनेछन्,' प्रशिक्षक इम्रीले थपे ।