काठमाडौं । मलेसियामा आयोजना हुने युथ फुटबल एण्ड लिडरसिप क्याम्पमा सहभागिता जनाउन २० सदस्सीय नेपाली टोली क्वालालम्पुर प्रस्थान गरेको छ ।
एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना भएको दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टिमका खेलाडीलाई मलेसिया लगिएको हो ।
मलेसिया जाने टिममा छात्र र छात्रा तर्फ ९–९ खेलाडी रहेका छन् । नेपाली टोलीको नेतृत्व तथा व्यवस्थापन शेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओली र प्रियंका बस्नेतले गरेका छन् ।
पाँच दिनसम्म चल्ने क्याम्पमा फुटबलको आधारभुत कुराहरु सिकाइनेछ । त्यससँगै समस्या समाधान, रणनीतिक विचार, मानसिक विकास, ब्यक्तित्व विकास लगायतका कार्यशालाहरुमा पनि सहभागि गराइनेछ । टिमले मलेसियाको यू–१७ टिमसँग मैत्रिपूर्ण फुटबल पनि खेल्नेछ ।
शेल्टर आश्रय अनाथ तथा आश्रय विहिन बालबालिकाको पढाई, बसोबासको क्षेत्रमा काम गर्दै आएको छ । बालबालिकालाई सहभागि गराएर शेल्टरले दुई पटक राष्ट्रिय फुटबल लिग सफलतापूर्वक आयोजना गरिसकेको छ ।
अघिल्लो संस्करणका उत्कृष्ट खेलाडीहरुले रसियाको मस्कोमा आयोजना भएको स्ट्रिट चाइल्ड वल्र्डकपमा सहभागिता जनाउने मौका पाएका थिए । यो संस्करणमा उत्कृष्ट हुने टिमले मलेसियामा जाने अवसर पाएको हो ।