एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा म्यानचेस्टर सिटीले योकोहामा मारिनोसलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा प्रिमियर लिग च्याम्पियन सिटीले योकोहामालाई ३-१ गोल अन्तरले हराएको हो ।
सिटीको जितमा केभिन डी ब्रुयन, रहिम स्ट्रर्लिङ र लुकास न्मेचाले एक एक गोल गरे । योकोहामाका केइटा इण्डोले एक गोल फर्काए ।
जापानको शीर्ष डिभिजन क्लबविरुद्ध सिटीले खेलको १८ औं मिनेटमा ब्रुयनको गोलबाट अग्रता बनाएको थियो । तर, २३ औं मिनेटमा योकोहामाका इण्डोले गोल गर्दै खेल बराबरी ल्याए ।
४० औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा लुकासले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न एसिया भ्रमणमा रहेको सिटी जापानमा रहेको छ । र, सिटीले जापानको जे लिग क्लबसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेलेको हो ।