एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको राकुटेन कपमा बार्सिलोनाले जापानी क्लब भिसेल कोबेलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा बार्सिलोनाले कोबेलाई २-० गोल अन्तरले हराएको हो ।
मिसाकी पार्क स्टेडियममा बार्सिलोनालाई जित दिलाउन कार्लेस परेजले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले दुई गोल गरेको थियो ।

खेलको ५९ औं मिनेटमा परेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएको थियो । त्यसपछि खेलको ८६ औं मिनेटमा परेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।
बार्सिलोनाविरुद्ध क्लबका पूर्व लिजेण्ड आन्द्रे इनिएष्टा कोबेबाट मैदान उत्रिएका थिए । इनिएष्टा गत सिजन बार्सिलोनाको लामो यात्रा अन्त्य गर्दै कोबे आएका थिए ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न एसिया भ्रमणमा रहेको बार्सिलोना जापानमा रहेको छ । र, बार्सिलोनाले जापानको जे लिग क्लबसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेलेको हो ।