काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली महिला फुटबल टिमको तयारी भोलि (आइतबार) बाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागका लागि आइतबारबाट बन्द प्रशिक्षण सुरु हुने जनाएको छ । महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले नेपाली टोलीको तयारी सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने बताए ।
एन्फाले सागको तयारी लागि पहिलो चरणको प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाएको छ । प्रशिक्षक खड्काले प्रारम्भिक चरणमा ८ नयाँ खेलाडीलाई बोलाएको छ ।
झापाकी सम्झना लावती, काठमाडौंकी प्रिति राई र मनिषा थापा तथा रौतहटकी रोजिना श्रेष्ठ, रेविका राई, सलोनी राना मगर,सविता राना मगर र मनिषा रावत पहिलो पटक राष्ट्रिय टिमको लागि प्रारम्भिक टिममा परेका छन् । अन्य खेलाडी पुरानै अनुहार रहेका छन् ।
प्रारम्भिक चरणमा एपीएफबाट सर्वाधिक १२, आर्मीबाट ११, रौतहटबाट ८, पुलिसबाट ७, काठमाडौंबाट २ र झापाबाट १ खेलाडी अटाएका छन् ।
एपीएफबाट एन्जिला तुम्बाप्पो सुब्बा, निशा थोकर, सरु लिम्बु, मञ्जली कुमारी योन्जन, रेखा पौडेल, हिरा कुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, रेनुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी र अनिता के सी रहेका छन् ।
आर्मीबाट अन्जना राना मगर, पुजा राना, पुनम जर्धा मगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, बिमला चौधरी, सर्मिला थापा, दिपा राई र कृष्णा खत्री रहेका छन् ।
यस्तै रौतहटबाट समिक्षा घिमिरे, वसन्ति नाथ घिमिरे, रश्मि कुमारी घिसिङ, मनिषा रावत, सविता नाथ मगर, सलोनी राना मगर, रेविका राई र रोजिना श्रेष्ठ छन् ।
पुलिसबाट निरु थापा, दिपा न्यौपाने, उषा नाथ, घिम कुमारी गुरुङ्ग, अमृता जैसी, सृजना खड्का र निर्मला बिश्वकर्मा रहेका छन् । काठमाडौंबाट मनिषा थापा र प्रिति राई रहँदा झापाबाट सम्झना लावती रहेका छन् ।
नेपालमा आयोजना मंसिर १५ देखि २५ सम्म हुने सागको महिला फुटबल पोखरामा हुने सम्भावना रहेको छ ।
एन्फाले साग प्रतियोगिताको लागि मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षकमा अस्मिता खवासलाई जिम्मेवारी दिएको छ ।