एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनलका मिडफिल्डर मोसिट ओजिल र डिफेन्डर सिड कोलासिनाचलाई लुटेराको एक समूहले लुट्ने प्रयास गरेको छ ।
इंग्ल्याण्डको लण्डनस्थित एक सडकमा हतियारधारी समूहले ओजिल र कोलासिनाचलाई लुट्ने प्रयास गरेका थिए । तर, लुटेराहरुको प्रयास विफल भएको छ ।
मास्क लगाएर आएका समूहले चक्कुको सहाराबाट कोलासिनाचको मर्सिडिज कार लुट्ने प्रयास गरेका थिए । तर, कोलासिनाचले बहादुरीपूर्ण तरिकाले लुटेराको समूहलाई लखेट्न सफल भएका छन् ।

आक्रमणको क्रममा कोलासिनाचले कार चलाइरहेका थिए भने ओजिल पछाडी बसेका थिए । लुटेराको समूहले लुट्ने प्रयास गरेपछि कोलासिनाच बाहिर निस्किएर केहि बेर लुटेरासँग भिडेका थिए । लुटेरासँग कोलासिनाचको मुठभेडको भिडियो समेत सार्वजनिक भएको छ ।
आर्सनलले पनि लुट्ने प्रयास भएको पुष्टि गर्दै दुवै खेलाडी सुरक्षित रहेको जनाएको छ । यस्तै प्रहरीले लुटेराको खोजि कार्य जारी रहेको जनाएको छ ।
