एजेन्सी । इटालियन क्लब युभेन्ट्सका मुख्य प्रशिक्षक माउरिसियो सारीले क्लबका खेलाडीले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन् ।
प्रशिक्षक सारीले पोर्चुगिज स्टार रोनाल्डो विश्व स्तरिय खेलाडी भएको र टिमका सबै सदस्यले उनीबाट सिक्नुपर्ने बताए ।
‘उनी यस्ता खेलाडी हुन जसले हामीलाई फरक बनाएको छ । अन्य दश खेलाडीले उबाट केही सिक्नुपर्छ,’ प्रशिक्षक सारीले भने, ‘टिमले उनको मुभमेन्टलाई पछ्याउनु पर्छ । किनकी उसँग खेलमा फरक ल्याउन सक्ने क्षमता छ । उनले पहिलो खेलमा गोल गरे र अन्य धेरै अवसर बनाए ।'
३४ वर्षे रोनाल्डो गत वर्ष स्पेनिस महारथी क्लब रियल मड्रिडबाट युभेन्ट्स आएका थिए ।
रोनाल्डोले प्रि-सिजन टुर अन्तर्गत गत आइतबार भएको इन्टरनेसनल च्याम्पियन्स कपमा इन्ग्लिश क्लब टोटेनहमविरुद्ध गोल गरेका थिए । तर, टोटेनहमले युभेन्ट्सलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।
रोनाल्डोले युभेन्ट्सबाट २८ गोल गरिसकेका छन् ।