एजेन्सी । प्रि-सिजन अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब रियल मड्रिडले इन्ग्लिश क्लब आर्सनललाई पराजित गरेको छ ।
बुधबार बिहान भएको खेलमा स्पेनिस महारथी रियलले लण्डन क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराएको हो ।
खेलको निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा रियल सफल भयो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा २–० ले पछाडी परेको रियललाई ग्यारेथ बेल र मार्को एसेन्सियोले जोगाएका थिए । दुवै खेलाडीले एक एक गोल गर्दै रियलका प्रशिक्षक जिनेदिन जिदानलाई हारबाट जोगाएका हुन् ।

खेलको नवौं मिनेटमा नाचो फर्नान्डेज दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।
दशौं मिनेटमा एलेक्सजेन्डर लाकाजेट्स र २४ औं मिनेटमा पेरिक एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा आर्सनलका सोक्रेट्स दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल पनि १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा रियलले उठायो ।

दोस्रो हाफमा मैदान छिरेका बेलले ५७ औं मिनेटमा एक गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिश गरे । त्यसपछि एसेन्सियोले ५९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
नतिजासंगै प्रि–सिजन टूरमा आर्सनलको जितको श्रृङ्खलामा पूर्णविराम लागेको छ । उसले पछिल्ला तीन खेलमा स्पष्ट जित निकालेको थियो ।
