एजेन्सी । ब्राजिलियन डिफेन्डर फिलिप लुइसले स्टार फरवार्ड नेयमार स्पेनिस क्लब बार्सिलोना फर्किएमा ब्राजिलियन फुटबललाई फाइदा पुग्ने बताएका छन् ।
ब्राजिलमा आयोजित एक कार्यक्रममा बोल्दै लुइसले नेयमारको बार्सिलोना सरुवा सहज नभएको तर बार्सिलोना गए ब्राजिललाई फाइदा पुग्ने बताए ।
'म चाहन्छु उसले फुटबल करियर बार्सिलोनाबाट अन्त्य गरोस् । बार्सिलोनामा उ खुशी थियो । उसले मेस्सीसँग खेलेको हेर्न चाहन्छु,' ३३ वर्षे लुइसले भने, 'मलाई आशा छ नेयमार बार्सिलोना फर्किए ब्राजिल फुटबलको लागि राम्रो हुनेछ । तर, यो सहज भने छैन ।'
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का २७ वर्षे फरवार्ड नेयमार पछिल्लो समय बार्सिलोना फर्कने हल्ला चलिरहेको छ । उनलाई अनुबन्ध गर्न बार्सिलोना समेत सकारात्मक रहेको छ ।
नेयमार सन् २०१७ मा र्कीतिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।