काठमाडौं । नेपालमा आयोजना भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता महिला साफको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ ।
सरकारले उपविजेता बनेको महिला टोलीलाई बुधबार नगदसहित सम्मान गर्ने भएको छ । एन्फाका एक पदाधिकारीले सरकारले नेपाली टोलीको २० सदसीय खेलाडी र एक प्रशिक्षकलाई जनही ३२ हजारसहित सम्मान गर्ने खेलपाटीलाई जानकारी गराए ।
राष्ट्रिय खेलकुद परिषदको सिफारिसमा सरकारले महिला टोलीलाई सम्मान गर्न लागेको हो । राखेपले जनही १ लाखसहित पुरस्कृत गर्न सिफारिस गरेपनि सरकारले ३२ हजारले सम्मान गर्न लागेको हो ।
विराटनगरमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली टोली पुरस्कार लिन हाल विराटनगरमै रहेका छन् ।
नेपाली टोलीलाई आज प्रदेश नम्बर एक सरकारले जनही १ लाख र विराटनगर महानगरले मंगलबार जनही ५० हजारबाट पुरस्कृत गर्दैछ ।