एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इन्ग्लिश क्लब टोटेनहमले आइतबार इटालियन क्लब युभेन्ट्सलाई पराजित गर्यो ।
सिंगापुरमा टोटेनहमले युभेन्ट्सलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । उक्त जितमा नायक थिए ह्यारी केन ।
इन्जुरी समयमा मैदानमा मध्ये भागबाट केनले गोल गर्दै टोटेनहमलाई जित दिलाएका थिए । युभेन्ट्सका गोलकिपर अघि बढेको अवस्थामा केनले ६० यार्डबाट गोल गरेका थिए ।
युभेन्ट्सविरुद्ध उत्कृष्ट गोल गरेपछि केनले आफु पूर्व कप्तानद्वय डेभिड बेकह्याम र वायन रुनीबाट प्रेरित भएर गोल गरेको बताए । इंग्ल्याण्डका पूर्व कप्तान रुनीले दुई पटक र बेकह्यामले १ पटक मध्ये भागबाट गोल गरेका थिए ।
'वायनले केहि पटक गरेका थिए । त्यसलाई मैले पछ्याउने प्रयास गरे,' केनले भने, 'जब तिमि बेकह्याम र वायनको गोल हेर्छौ । तिमि त्यसलाई प्रयास गरे । मैले केहि पटक प्रयास गरे । धेरै पटक असफल भयो । तर, राम्रो सुरुवात भएको छ ।'
यस्तै केनले युभेन्ट्सविरुद्धको गोल करियरकै उत्कृष्ट भएको बताए । 'यो गोल मेरो करियरकै उत्कृष्ट गोलमा एक हो,' केनले थपे ।